फिल्म । अभिनेत्री करिश्मा श्रेष्ठ आफ्नो बोल्ड छविका कारण चर्चामा आउने गर्छिन् । उनले अभिनय गरेका फिल्म भन्दा पनि उक्त फिल्मको समारोहमा जनाउने सहभागिताले उनलाई चर्चामा ल्याउँछ । यद्यपि गत फागुन १४ मा प्रदर्शन भएको फिल्म ‘मायावी’ रिलिज भएपछि उनको अभिनयको तारिफ भयो । करिश्माले फिल्ममा जति भूमिका पाइन्, त्यसमा गज्जबको काम गरेको भन्दै तारिफ पनि भयो । हरेक भूमिकामा गहिरिएर अभिनय गर्न सक्ने नायिकाको रुपमा करिश्माले आफूलाई परिचित गराएकी थिइन् ।
तर, आजदेखि प्रदर्शन भएको फिल्म ‘११ः५५’मा भने करिश्माले त्यो चर्चा पाउन सकिनन् । त्यसो त सार्वजनिक प्रदर्शन अगाडि गरिएको प्रिमियरमा पनि फिल्मकर्मीले खुलेर तारिफ गरेनन् । सामाजिक सञ्जाल होस् या मिडियामा फिल्मलाई खुलेर प्रसंसा गर्ने भन्दा शुभकामना दिने नै भेटीए । त्यसो त अहिले प्रिमियरमा फिल्मलाई कलाकारले गर्ने तारिफलाई दर्शकले पत्याउन छाडेका छन् ।
सृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज र विशाल पहारी लगायतको अभिनय रहेको फिल्मलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेको निर्देशकीय क्षमताको पनि चर्चा गरेको पाइएको छैन । फिल्मले शुक्रबार पहिलो दिन पाएको शोमा दर्शकको चाँप न्यून देखिएको छ । यदपि पहिलो दिनकै अकुपेन्सीको आधारमा यसको सफलता वा असफलता मापन भने गर्न सकिदैन ।
तर, पछिल्लो दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरी रेशम् फिलिली’ मार्फत आफ्नो भूमिकामार्फत चर्चामा आएका महेश, डेब्यु गरेर राम्रो सम्भावना देखाउन सक्ने सागर र पछिल्लो फिल्म ‘मायावी’ बाट चर्चा बटुलेकी करिश्मालाई फिल्मले करिअर ग्राफमा फाइदा गर्न चुकेको छ । उनीहरूले काम गर्न सकेनन् वा निर्देशकले अभिनय निकाल्न सकेनन्, त्यो उनीहरुले नै जानुन् ।