रमित अब ‘राजा साहेब’

फिल्म । अभिनेता रमित ढुंगानाको अभिनय रहने फिल्म ‘राजा साहेब’ को घोषणा भएको छ । फिल्ममा उनी प्रमुख भूमिकामा देखिँदैछन् । ‘राजा साहेब’ का लागि उनले आफ्नो गेटअपमा परिवर्तन ल्याएका छन् । उनले फिल्मका लागि कपाल र दाह्री बढाएका छन् । उनको गेटअपले नै दर्शकमा फिल्मप्रति कौतुहलता बढाउँछ । ‘फिल्मको नाम ‘राजा साहेब’ भए पनि कथा राजाको होइन , आफूलाई राजा ठान्ने एक युवकको हो’ रमितले भने । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मूहुर्त गरिएको फिल्मको पत्रकार सम्मेलन गर्दै जानकारी गराइयो । बिचल किरातीको निर्देशनमा बन्न लागेको फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ ।

यो फिल्मबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् । ‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्ममा सिसम डागी सह-निर्माताका रुपमा रहेका छन् ।

निर्देशक राईकै लेखन रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने फिल्मलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने फिल्म तिहारमा प्रदर्शनमा आउने बताइएको छ । कार्यक्रममा बोल्दै अभिनेता रमितले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्