फिल्म । कवि उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘मनसरा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । बुधवार साँझ प्रिमियरमा सहभागी कलाकर्मीले यसको प्रसंशा गरेका छन् । ‘जारी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक सुब्बाको दोस्रो फिल्ममा समेत साख गिर्ने काम नगर्नेको प्रतिक्रियाले निर्माण समूह उत्साहित छन् ।
वैशाख २१ गते शुक्रबार देखि प्रदर्शन हुने ‘मनसरा’ मा एक आत्मनिर्भर महिलामार्फत मिश्रित समाजको कथालाई प्रस्तुत गरेका निर्देशक सुब्बालाई फिल्म हेर्नेले बधाई दिए । निर्देशक निश्चल बस्नेतले सम्पूर्ण कलाकारले जीवन्त अभिनय गरेको बताए ।
‘उपेन्द्र दाईलाई आम मानिसको जीवनमा हुने घटनाक्रमलाई बटुलेर सुन्दर प्रस्तुतीमार्फत कथा भन्न आउँछ । उहाँ दर्शकलाई पर्दामा कसरी जोड्ने भन्ने विषयमा जानकार हुनुहुन्छ । उहाँको निर्देशकीय क्षमतालाई जारीले प्रमाणित गरेको थियो भने मनसराले झनै बढाउँछ’, निर्देशक बस्नेतले भने । उनले फिल्ममा साहित्य जोडिएकोमा खुसी व्यक्त गरे ।
निर्देशक प्रदीप भट्टराईले फरक फरक जनराको फिल्मले दर्शकलाई आनन्दित बनाउने बताए । उनले भने,‘बगैचाको सुन्दर फुल हो, मनसरा । मिश्रित समाजमार्फत उहाँले विभिन्न वर्गको कथालाई सरल रुपमा सुन्दर प्रस्तुतीमार्फत भन्नुभएको छ । यो आम मानिसको जीवनसँग नजिक छ । फिल्म निकै सुन्दर र सरल छ ।’
अभिनेता रवीन्द्रसिंह बानियाँले निर्देशक सुब्बालाई राम्रो फिल्म बनाएको भन्दै धन्यवाद दिए । ‘उहाँले साहित्यलाई फिल्मसँग जोडेर आम मानिसले बुझ्ने प्रस्तुती दिनुहुन्छ । उहाँको विशेषताले फिल्म क्षेत्र लाभान्वित भएका छौँ भने दर्शकले साहित्य मिसिएको स्वाद नेपाली फिल्ममा पाएको छ’, अभिनेता बानियाँले भने ।
अभिनेत्री सुरक्षा पन्तले फिल्म हेर्दा आनन्दित महसुश गरेको बताइन । ‘समाजमा विधमान समस्यालाई साहित्यसँग जोडेर गरिएको प्रस्तुतीले मज्जाले बाँधेर राख्छ । पर्दा भित्रका पात्रसँग हामी जोडिन्छौँ । मन नै खुसी हुने फिल्म बनेको छ’, अभिनेत्री पन्तले भनिन् ।
कवि विप्लव प्रतीकले यसलाई ‘जारी’ भन्दा माथि रहेको विश्लेषण गरे । ‘फिल्मको आफ्नै स्थान र शैली हुन्छ । यो सबै वर्गलाई जोडेर तयार भएको छ । यसले मिश्रित समाजमार्फत मानवीयतालाई अगाडि ल्याएको छ । समाजले नभई सोचले समस्या सिर्जना गर्छ भन्ने फिल्ममा देख्न सकिन्छ’, कवि प्रतीकले भने ।
अभिनेता खगेन्द्र लामिछानेले भुइँ मान्छेको कथा र समस्यालाई सबैले बुझ्ने गरी फिल्मला प्रस्तुत गरिएको बताउदै निर्माण समूहलाई बधाई दिए । अभिनेत्री मिरुना मगरले फिल्म हेर्दा आफू दर्शकका रुपमा निकै रमाइलो गरेको बताइन ।
‘मैले यो पात्रबाट धेरै सिकेकी छु । एक्लो महिलालाई समाजमा हेरिने दृष्टिकोण र उसको भोगाईलाई जीवन्त बनाउने प्रयास गरेकी छु । महिलाले मेरो पात्रलाई बढी कनेक्ट गर्नुहुन्छ भन्ने लागेको छ’ अभिनेत्री मगरले भनिन् ।
निर्देशक सुब्बाले प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले उत्साहित रहेको र दर्शक प्रतिक्रिया लिन आतुर रहेको बताए । उनी शुक्रबारदेखि विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिने तयारीमा छन् ।
फिल्ममा अभिनेत्री मगरसँगै दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।