
फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘दान्भी’ अभिनेत्री पूजा शर्मासँगै अभिनेता किरण श्रेष्ठ र कुन्साङ बम्जनलाई दर्शकले घेरेका छन् । शनिवार फिल्म प्रदर्शन भइरहेको हलमा पुगेर दर्शकसँग साक्षत्कार गर्दै उनीहरूले भेटघाट गरेका थिए । काठमाडौँ उपत्यकामा रहेको अष्टनारायण हलमा पुगेर उनीहरूले दर्शकलाई धन्यवाद दिए ।
अभिनेत्री शर्माले दर्शकलाई धन्यवाद दिईन् । उनले भनिन्,‘मेरो फिल्मको सफलताको श्रेय नै दर्शक हुनुहुन्छ । आज यहाँ आउँदा पहिलाको दु:ख देखेर निकै सुख महसुश भएको छ । हाम्रो काम र मेहनत सफल भएको छ ।’
अभिनेता किरण श्रेष्ठले निकै रमाइलो महसुश गरेको बताए । उनले भने,‘अहिले मेहनतको फल पाए जस्तो लागेको छ । दर्शकसँग बसेर फिल्म हेर्दाको अनुभव शब्दमा व्यक्त गर्न सकिदैन । सम्पूर्ण दर्शकलाई धन्व्याद ।’
पूजाले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना प्रशिक्षण लिएर दुई साता भन्दा बढी समय द्वन्द्वका दृश्यको छायाङ्कन गरिएको जानकारी गराइन । त्यसकारण आफ्नो ध्यान आलोचकको तर्फ नजाने उनको भनाइ छ । फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
रुपेश तामाङ निर्देशित फिल्म नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ । यसमा श्री श्रेष्ठले द्वन्द्व निर्देशन, सञ्जोग कुँवर रानाले पटकथा तथा संवाद लेखन, रविना थापा मगरले कथा लेखन, हरिप्रसाद घलेले छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेका हुन् ।
