फिल्म । मार्भल स्टुडियोजले प्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ को पहिलो टिजर सार्वजनिक गरेको छ । केही समय अगाडि अनलाइनमा लिक भएको ट्रेलरलाई मार्भलले अफिसियल रुपमा दर्शक समक्ष ल्याएको छ । सार्वजनिक पहिलो टिजरमा स्टिभ रोजर्स अर्थात् क्याप्टेन अमेरिका देखिएका छन् । मार्भल सिनेम्याटिक युनिभर्सको प्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ को ट्रेलर लिक भएसँगै हलिउडमा ठूलो तरंग पैदा भएको छ । यस लिकले फ्यानहरूका प्रिय अभिनेता क्रिस इभान्स पुनः ‘स्टिभ रोजर्स’ को भूमिकामा फर्किने पक्का गरेको छ ।
इभान्सको उक्त क्यारेक्टर ‘एभेन्जर्स : इन्ड गेम’ बाट विदा भएको थियो । मार्भलको पछिल्लो दुई फेजमा दर्शकले पुराना सुपरहिरोलाई मिस गरेपछि अन्तत: मार्भल सिनेम्याटिक युनिभर्समा पुराना पात्र देखिएका छन् । यो फिल्मको प्लट सुपरहिरोका सन्तानहरूको अपहरणको वरिपरि घुम्ने संकेत मिलेको छ । डाक्टर डुमले सम्भवतः स्टिभ रोजर्सको शिशु, थोरकी छोरी र फ्र्याङ्कलिन रिचर्ड्सलाई अपहरण गर्ने योजना बनाएको देखिन्छ ।
सम्भव यो फिल्म मल्टीभर्सको कन्सेप्टमा तयार गरिएको छ । जहाँ डाक्टर डुम अन्य ब्रह्माण्डबाट आउने छन्, उनीसँगै डाक्टर स्ट्रेन्ज लगायतका पात्र पनि आउने देखिएको छ । टिजरमा एक अज्ञात पात्र मोटरसाइकल चढेर घर फर्किएको देखिन्छ । घरभित्र छिरेपछि उनले आफ्नो पुरानो सुपरहिरो कस्ट्युम उठाउँछन्, जहाँ उनी ‘स्टिभ रोजर्स’ (क्रिस इभान्स) भएको खुलासा हुन्छ । भिडियोको क्याप्सनमा स्पष्ट लेखिएको छ, ‘स्टिभ रोजर्स एभेन्जर्स: डुम्सडेमा फर्किनेछन् ।’
रोचक कुरा के छ भने, ट्रेलरमा स्टिभ रोजर्स आफ्नो सानो बच्चालाई काखमा लिइरहेको अवस्थामा देखिन्छन् । यसले उनी किन फेरि युद्धमा होमिन चाहँदैनन् भन्ने संकेत गर्छ । सन् २०१९ को ‘एभेन्जर्स: एन्डगेम’ पछि इभान्सले यस फ्रेन्चाइजबाट बिदा लिएका थिए ।
‘स्टिभ रोजर्स’ को पुनरागमनको खबरले फ्यानहरूमाझ केही विवाद पनि जन्माएको छ। हाल साम विल्सन (एन्थोनी म्याकी) ले ‘क्याप्टेन अमेरिका’ को जिम्मेवारी सम्हालिरहेका छन् । कतिपय फ्यानहरूले ‘स्टिभ’ को फिर्तीले सामको भूमिकालाई ओझेलमा पार्ने आशंका गरेका छन् । यद्यपि, टिजरमा स्टिभलाई ‘क्याप्टेन अमेरिका’ भनिएको छैन, जसको अर्थ साम विल्सन नै वर्तमान ‘क्याप्टेन अमेरिका’ रहनेछन् ।
रुसो ब्रदर्सले निर्देशनमा तयार भएको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो हुने बताइएको छ । रोबर्ट डाउनी जुनियर यसमा ‘आइरन म्यान’को भूमिकापछि अब उनी मुख्य भिलेन ‘डाक्टर डुम’ को रूपमा देखिनेछन् । फक्स स्टुडियो डिज्नीमा गाभिएपछि पहिलोपटक प्याट्रिक स्टिवर्ट, इयान म्याकलेन र जेम्स मार्सडेन जस्ता कलाकारहरू ‘एक्स-म्यान’ पात्रका रूपमा देखिने सम्भावना छ ।












