फिल्म । अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो भदौ १० गतेलाई प्रदर्शन मिती घोषणा गर्दै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के मात्र प्रस्तुत छन् । चकलेटी ब्वाईको रुपमा प्रस्तुत हुदैँ आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन् ।
प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । त्यस्तै, दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।
महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।












