फिल्म । नेपाली शेर्पाको कथावस्तुमा निर्माण भएको फिल्म ‘त्रिमाली’ को टिजर सार्वजनिक भएको छ । साउथ इण्डियन फिल्म मेकर एसके ल्वरेन्सको निर्माणमा तयार भएको फिल्मको ७० प्रतिशत छायांकन नेपालमा गरिएको हो । एन्जल मारिया फिल्मको व्यानरमा निर्माण भएको फिल्ममा नेपालका निर्माता सरोज न्यौपानेले सहकार्य गरेका छन् । उनको प्रोडक्सन हाउस अनन्या फिल्म्स पनि निर्माताको रुपमा रहेको छ ।
सार्वजनिक टिजरमा नेपाली हिमाली भूभागको रमणीय दृश्यलाई देखाइएको छ । सार्वजनिक टिजरमा भारतीय कलाकारहरु विपिन जर्ज, धर्माजन बोलगाटीसँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का र माओत्से गुरुङलाई पनि देखाईएको छ । राजीव सेठ्ठी निर्देशित फिल्मको छायांकन काठमाडौं र मुस्ताङमा गरिएको छ । निर्माता एसकेले नेपाली कथालाई आफ्नो फिल्म मार्फत देखाउन चाहेको बताएका छन् । उनले नेपालीको कथा विश्वले थाहा पाउनु पर्ने बताउदै आइरहेका छन् । विशेषत उनि हिमाली भेगमा बसोबास गर्ने शेर्पाको कामबाट निकै प्रभावित छन् । स्वस्तिमाको नृत्यसँगै अभिनयलाई दर्शकले हेर्न पाउने निर्माता सरोजले बताए ।












