फिल्म । आउँदो फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘नेपाल हासेको…’ आज सार्वजनिक गरिएको छ । मेयर शाहकै स्वर, संगीत, र्याप र शब्द रहेको गीतमार्फत उनको पार्श्वगायनमा उदय भएको छ ।
गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।
यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ । बालेनको लोकप्रियताजस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ । ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यसलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । ‘सक्किगोनि’ टिमले बनाएको फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।