‘मोदीबेनी’ प्रिमियर : सेलेब्सले रुचाए फिल्म

फिल्म । यही शुक्रवार देशभर रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । बुधवार गरिएको प्रिमियरमा फिल्म क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘मोदीबेनी’लाई प्रिमियर शोबाट ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ ।

प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने । वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए। अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन् । नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन्।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।

प्रिमियर शोमा फिल्म हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए । ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ ।

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले फिल्मको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन् । ‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन्। कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए ।

कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए । समग्रमा फिल्म मन परेको बताउँदै सबैलाई यो फिल्म हेर्न सुझाव दिए । कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो फिल्ममा हेर्न पाएको बताए । कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि राम्रो बनेको प्रतिक्रिया दिए।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई फिल्मको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै बनेको प्रतिक्रिया दिइन्। उनले नेपाली फिल्ममा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको जनाइन् ।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका फिल्महरू भन्दा फरक लागेको बताए । निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए । उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए । अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन्। सबै कलाकारले आफ्नो चरित्रलाई न्याय दिएको जनाउँदै आफूले दर्शकको नजरबाट चलचित्र हेरेको बताइन्।

चलचित्रको लागि उत्कृष्ट प्रतिक्रिया पाएपछि पहिलो पटक फिल्म निर्देशन गरेका शङ्कर कोइरालाले आफ्नो सपना साकार भएको बताए । शुक्रवार रिलिज हुने ‘मोदीबेनी’ले देशभर उल्लेख्य शोहरू प्राप्त गरेको छ । प्रिमियरबाट प्राप्त प्रतिक्रियाले दर्शकमा चलचित्रप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्