सचिनले सार्वजनिक गरे ‘ए मान्छे’

संगीत । पुराना गायक सचिन रौनियारले झन्डै १२ वर्षपछी ‘ए मान्छे’ बोलको गीतका साथ् कमब्याक गरेका छन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्षभने उनि नयाँ गीतसंगीतका साथ् प्रस्तुत भएनन् । डिजिटल युगको पहिलो गीत बताउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । मनोरंजनसँगै अनेकतामा एकताको संदेश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् । ‘मेरो कमब्याकमा सबैले साथ् दिनु भयो , आभारी छु’ सचिनले भने । कार्यक्रममा गायिका सुक्मित गुरुङ , गायक संजय श्रेष्ठ , योगेश्वर अमात्य , बबिन प्रधान , भिम तुलाधर , जेम्स प्रधान , कलाकार राजाराम पौडेल , सन्नी रौनियार, निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सचिनले गायनमा झन्डै अढाई दशक बिताईसकेका छन् । बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन । छ भनौ कि छैन भनौ , यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी , ए माया कहाँ छौ कहाँ , झन् झन् बढ्यो याद तिम्रो , आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्याएको छ । १२ वर्षको अन्तरालमा ए मान्छे लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन् ।

सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । ‘भिडियोलाई राम्रो बनाउन कुनै सम्झौता त छैन नै साथै यसलाई सचिनजीको फ्यानसँगै नयाँ पुस्तालाई पनि हुने किसिमले तयार गरेका छौ’ निर्देशक आचार्य भन्छन ‘गीतको भावनै अनेकतामा एकता हो , मैले त्यहि अनुरुप दृश्यमा देखाउने कोसिस गरेको छु । भिडियोलाई राम्रो बनाउन टिमले निकै मेहनत गरेका छौ , बाकि त दर्शककै हातमा छ ।’ भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

कमेन्ट गर्नुहोस्