
फिल्म । एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन् । अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए । ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो । हाम्रो पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं’, विराजले भने ।
खड्का मिस नेपाल इन्टरनेशनल-२०२२ हुन् । विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन् । उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन । यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन् ।
यसैबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गराउदैछन्। हाल प्रि-प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ। फिल्म चैत १५ बाट छायाँकनमा जाने भएको छ। सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । यसलाई विराज आफैंले निर्देशन गर्नेछन् । ‘१२ गाउँ’ विराजको होम प्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।
