फ्राइडे रिलिज : पर्दामा घामड शेरे र जीवन काँडा कि फुल

फिल्म । शुक्रबारे रिलिज अन्तर्गत पर्दामा दुइ फिल्म रिलिज भएका छन् । हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको बायोपिक फिल्म ‘जीवन काँडा कि फूल’ देशैभर प्रदर्शनमा आएको छ । स्टारकास्ट नभएका कारण ‘जीवन काँडा कि फूल’ ले भने कुनै मल्टीप्लेक्समा एउटा पनि सोज पाएको छैन । दुई दर्जन बढी सिंगल थिएटरबाट फिल्म प्रदर्शनमा आएको जानकारी प्राप्त छ । विनोद विष्ट निर्देशित फिल्मले साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई प्रस्तुत गरेको छ । झमक स्वंमले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित भएर यो फिल्म बनेको हो । ‘घामड शेरे’ मा भने ‘रियल कपल’ निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

घामड शेरे

फिल्मको कहानी विदेश रिर्टन्स ‘शेरे’ पात्र (निश्चल बस्नेत) को वरिपरि घुमेको छ, जो गाउँमा तरकारी खेत गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ । के उसले मुद्धा जित्ला ? फिल्मले यसैको जवाफ दिँदै विट मार्छ । निश्चलको घामड अन्दाजलाई दर्शकले रुचाउने विश्वास टिमको छ । फिल्मका सेन्ट्रल क्यारेक्टर पनि यिनै हुन् । निर्देशक हेमराज विसी निर्देशित यो फिल्ममा रियल जोडी निश्चलसँगै उनको रियल जोडी स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

जीवन काँडा कि फूल

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्म प्रदर्शनमा आएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्मको निर्देशनसंगै निर्माण समेत विनोद विष्टले गरेका हुन् । यसमा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् । भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ । भने, नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको फिल्ममा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ । फिल्मको सह-निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो । फिल्मको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्