फिल्म । फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘मायाबी’ सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा छ । ‘मेरो जीवन साथी’, ‘स्टूपिड मन’, ‘ड्रिम्स’, ‘क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देहक दीवाकर भट्टराईको निर्देशनमा तयार भएको प्रेम कथानक फिल्म ‘मायावी’ मा पल शाह, दीपिका प्रसाईं लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
यो फिल्मलाई निर्देशक भट्टराईले आफ्नो मनको एउटा कथालाई पर्दासम्म ल्याएको बताएका छन् । उनले फिल्मको शिर्षक ‘मायावी’ को अर्थ सुन्दर जाल रहेको खुलाए । उनले भने,‘मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायावी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । फिल्मले यही कथा भन्छ ।’
निर्देशक भट्टराईले प्रेम पाउनेको भन्दा पनि त्याग्नेको कथा नै मजबुत रहेको बताउदै पीडा पाएर पनि खुशी हुने पात्रको कथालाई फिल्ममा देखाईएको बताए । पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो फिल्मले आफ्नो करिअरमा महत्वपूर्ण स्थान ओगट्ने निर्देशक भट्टराईको बुझाइ छ ।
‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो फिल्म बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा फिल्ममा भनेका छौं’, उनले भने ।
निर्देशक भट्टराईले यो फिल्मबाट आफूलाई असन्तुष्टि मिलेको बताउँछन् । उनले यसलाई मनबाट बनाएको फिल्म भन्ने गरेका छन् । रमकम विधाम यसअगाडि पनि काम गरेका होइनन् तर यसलाई उनले नयाँ सुरुआतको रुपमा बुझेका छन् ।
‘यो मैले पर्दामा ल्याउन चाहेको कथा हो । किनकि यस अगाडि मैले निर्देशकको रुपमा काम गरें, तर यसपटक कथाकार पनि आफैँ बनेको छु । यसकारण यो मेरो नयाँ सुरुआत हो भन्न चाहन्छु’, निर्देशक भट्टराईले भने ।
उनले यो कथाको सिर्जना ‘जोय’ भन्ने पात्र मार्फत गरेको तर उसैको सेरोफेरोमा रहेर यो फिल्मको कथा लेखेको बताए । उनी यो दर्शकसम्म पुर्याउने एउटा कथा रहेकाले व्यापारतर्फ धेरै सोच नआएको बताउछन् । यसमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरुले यो फिल्ममा अभिनय गरेका छन् । फिल्म हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ ।










