संगीत । अमेरिकामा बस्दै आएका नेपाली कलाकारहरुले नेपाली लोक दोहोरी गीतको प्रवर्धनका लागि प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । नेपाली कला संस्कृति संसारभर फैलने क्रमसंगै फिल्म निर्देशक सुमन दाहालको सक्रियतामा संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी साङ्गीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ ।
हरेक साता आफुहरू जम्मा भई नयाँ नयाँ दोहोरी गीत गायन प्रतियोगिता गर्दै आएको दाहालले बताए । त्यसलाई छायांकन गरेर दोहोरी कार्यक्रमका रूपमा युट्युब च्यानलबाट प्रसारण गर्न थालिएको छ । यो प्रत्यक्ष दोहोरी गायनको मुख्य गायक गायिकामा बिष्णु डुम्रे र सम्झना अधिकारी छन् । अन्य गायक गायिकामा सिर्जना मरासिनी, सरिता मरासिनी, नर्वदा खरेल, हिम कुँवर, सन्दिप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुंगाना तथा समूह गायनमा रूपा अर्याल, मन्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा रहेको पनि निर्देशक दाहालले जानकारी गराएका छन् । दोहोरी गायनमा मादलतर्फ गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी गिटारमा कृष्ण राना, तबलामा उद्धव उप्रेती छन् ।
एनआरएनए अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी प्रमुख आतिथ्यतामा पहिलो शृंखलाको छायांकन गरिएको छ । कार्यक्रममा स्थानीय नेपाली संस्था फोनाका पूर्वअध्यक्ष रामप्रसाद खनाल, कवि डमरु पौडेलले पनि कार्यक्रम सफलताको कामना गरेका छन् । यो कार्यक्रमको छायांकारमा पवन गौतम, राजु तिमल्सिना, अक्की शर्मा र कार्यक्रम सञ्चालकमा सुमन दाहाल आफैं रहेका छन् ।