फिल्म । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपुत बीचको पारिवारिक द्वन्द्व र घरझगडालाई देखाइएको छ । छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र सिर्जना अधिकारीको सम्बन्ध भने सन्तुलित र भावनात्मक देखिन्छ ।
ट्रेलरमा श्रीमतीलाई कुटपिट गरेपछि खोज्न निस्किने कथाले दर्शकलाई भावुक बनाउने संकेत गरेको छ । मार्मिक दृश्य र अँध्यारो पृष्ठभूमिसँगै आगोको प्रतीकात्मक प्रयोगले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको झल्काउँछ । निर्देशक लक्ष्मण सुनार को निर्देशनमा बनेको यस फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ । हरि ॐ सिने मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्। फिल्मको कथा तथा पटकथा सुशील देवकोटाले लेखेका हुन् ।
छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ तथा रंग संयोजन कनाल कँवरले गरेका छन् । फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन् भने ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् । ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् ।
फिल्ममा पाश्र्व संगीत किरण तुलाधर तथा संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको रहेको छ । गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ । भेषभूषा डिजाइन सुजन परियार, श्रृंगार मदन न्यौपाने र केश विन्यास रोनिशा अधिकारीले गरेका छन् । कला निर्देशन प्रतिक चौधरी तथा पोस्टर डिजाइन आइडियल डिजाइनर्सले गरेका हुन् । मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन् ।
फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने ओएसआर डिजिटलले ओटीटी अधिकार लिएको छ । साहित्यकार गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस फिल्म यसअघि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि निर्माण गरेका थिए ।










