फिल्म । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । आमाको महत्व र मायालाई दर्साइएको फिल्मको ट्रेलर भावनात्मक छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन ।
तर , आमाको भूमिकाको लागि मिथिला पहिलो रोजाई होइनन् । फिल्मकै घोषणामा यस भूमिकामा सुर्यमाला खनाल प्रस्तुत हुने बताइएको थियो । तर , यतिबेला फिल्ममा मिथिला शर्मा छिन् । यसलाई मिथिलाले सुर्यमालाको ब्याडलकको रुपमा लिन्छिन् । ‘सूर्यमालाजी निकै राम्रो कलाकार हो तर , उँहाको भाग्यमा आमा रहेनछ’ उनले भनिन् ,’उँहा हजुरआमा बन्दा आमा बन्ने सौभाग्य मैले पाए ।’
ट्रेलर सार्वजनिक भएसँगै उनको चर्चा झनै बढेको छ । किनकी फिल्म उनकै वरिपरी घुमेको छ । तर , उनले सार्वजनिक तस्वीर मार्फत नै आमाको उपनाम पाएको बताउछिन् । ‘मलाइ दिदी भनेर सम्बोधन गर्नु हुन्थ्यो तर अब आमा भन्न थाल्नु भएको छ’ मिथिलाले भनिन् । उनले यस आफ्नो अभिनय करियरकै घुम्तीको रुपमा पनि लिन्छिन् । ‘हरेको अभिनय जीवनमा एउटा घुम्ती आउछ त्यो मेरो लागि आमा हो’ उनले भनिन् । उनले ‘आमा’ उपनाम पाउनेमा विश्वस्त रहेको समेत बताइन ।
फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । जो अर्ध मुण्डनमा देखिएकी छिन् । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










