‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

फिल्म । आँचल शर्मा र सहयोगराज अधिकारीलाई शीर्ष भूमिकामा लिएर सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । बिहीबार फिल्म निर्माण घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । जहाँ आँचललाई भिन्न रुपमा देख्न सकिन्छ । ‘इन्द्रेणी खोज्दै जाँदा’पछि सहाराको यो दोस्रो कथानक फिल्म हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ ।

अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुती रहने फिल्म फेब्रुअरी वा मार्चदेखि पोखरा उपत्यकामा छायांकन गर्ने निर्माण पक्षको लक्ष्य छ । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजको सहकार्य रहेको यस फिल्मबाट सहयोगराजले अभिनयमा र समीक्षक तथा लेखक सामीप्यले निर्माताको रुपमा नयाँ यात्राको सुरुआत गर्दैछन् ।

निर्देशक शर्माकै पटकथा रहेको यो फिल्मले यसअघि विश्वप्रसिद्ध महोत्सवको फिल्म बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा फिल्म पिचिङ भइसकेको छ । आउँदो जनवरीमा ढाका फिल्म फेस्टिभलको मार्केट र ल्याबमा फिल्म पेश हुँदैछ । फेस्टिभलसँगै हललाई लक्ष्य राखेर फिल्म बनाउन लागिएको प्रस्तुतकर्ता तिमल्सेनाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्