फिल्म। पाटन उच्च अदालतले गत चैत २१ मा निषेधाज्ञा जारी गरेको फिल्म ‘प्रसाद २’ को अर्को पेशी चैत २७ गतेलाई तोकिएको छ। आज भएको छलफलमा मा.न्या. श्री महेश प्रसाद पुडासैनी र मा.न्या. श्री जगदीश घिमिरेको संयुक्त इजलासले अर्को पेशी तोक्ने निर्णय गरेको हो। सरकारी वकिलको कार्यालयमार्फत जानकारी दिन आदेश गर्दै २७ गतेलाई पेशी तोकिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो।
आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माताले विना अनुमति रिलिज गर्न लागेको भन्दै व्यावसायी केशव पाण्डेले तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद २’ प्रदर्शन हुनसकेको छैन। पाण्डेले निर्माता सुवास थापाले सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व नदिएको दाबी गर्नुभएको छ।
पाण्डेका अनुसार निर्माता थापाले उहाँको ६२ लाख ५० हजारसहित प्राविधिकको ११ लाख,छायाङ्कन गरिएको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैयाँ तिर्न बाँकी रहेको छ। उहाँले चलचित्र विकास बोर्ड चाबहिल काठमाडौं,चलचित्र जाँच समिति सञ्चार मन्त्रालय सिंहदरबार काठमाण्डौ,सुलभ थापा प्रोडक्सन प्रा.लि., सुभाष थापा, सुदर्शन थापा, एसजि फिल्म्स प्रा.लि, सुदर्शन बस्नेतलाई विपक्षी बनाई मुद्दा दर्ता गर्नुभएको हो।












