‘अभिमन्यु : च्याप्टर-१’ हेर्ने दर्शक के भन्छन् ?

फिल्म । नेपालमा सस्पेन्स थ्रिलर ड्रामा फिल्म कमै मात्र निर्माण हुन्छन् । मेकिङमा विशेष ध्यान दिनुपर्ने, कलाकारबाट ड्यासिङ प्रदर्शन आवश्यक पर्ने र त्यसअनुरूप बलियो तथा सस्पेन्सपूर्ण कथावस्तु चाहिने भएकाले यस्तो श्रेणीका फिल्म बन्न कठिन मानिन्छ । स्क्रिप्टको अभाव रहने नेपाली फिल्म उद्योगमा सस्पेन्स थ्रिलरका लागि झनै कथा पाउन गाह्रो हुने गर्छ ।

गएको विहिबारदेखि प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ मा सस्पेन्समा राख्दै नेपाली समाजका संवेदनशील विषय उजागर गरिएको छ । फिल्मले मुख्य रूपमा मधेसमा अझै समस्याका रूपमा रहेको दाइजो प्रथालाई प्रस्तुत गर्छ । साथै पछिल्लो समय सहज फाइदाका लागि नेपाली समाजमा भइरहेका विभिन्न तिकडम र प्रवृत्तिलाई पनि उठान गरेको छ ।

सस्पेन्स कायम राख्दै यथार्थ समाजको कथा प्रस्तुत गर्नु फिल्ममेकरका लागि निकै चुनौतीपूर्ण मानिन्छ । विविध जनराका फिल्म बन्नु उद्योगकै लागि सकारात्मक मानिने भएकाले यस्ता फिल्मलाई सबैले प्रोत्साहन गर्नुपर्ने दर्शक तथा निर्माताको धारणा छ । ‘अभिमन्यु’ हेरेका दर्शकहरूले फिल्मको सिक्वेलको माग गरेका छन् । निर्माण पक्षले सुरुबाटै ‘च्याप्टर–१’ भनेकाले यसको दोस्रो भाग आउने अनुमान गरिएको छ । दर्शकको यही मागले सिक्वेल निर्माणमा उत्साह थपिएको बताइन्छ ।

सुशान्त गौतम निर्देशित फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्मको लेखन मुकेश खनालले गरेका छन् । ‘अभिमन्यु : च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मका लाइन प्रोड्युसर जीवन शाक्य हुन् ।

शरद महतोको डीओपी रहेको फिल्ममा मनोज श्रेष्ठले भिएफएक्स, जुनिम गहतराजले रंग संयोजन र मदन घिमिरेले सम्पादनको जिम्मेवारी निभाएका छन् ।

कमेन्ट गर्नुहोस्