फिल्म । डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । यो वर्षको ‘क्लिनहिट’ फिल्म ‘गौँथली’ ले घरेलुबजारमा १० करोड कमाइ गरेको छ । यस वर्ष ;प्रदर्शन भएको फिल्ममा १० क्लबमा प्रवेश गर्ने पहिलो फिल्म ‘गौँथली’ बन्न सफल भएको छ । नत फिल्म सिक्वेल, नत फिल्ममा कुनै ठूलो व्यानर, नत फिल्ममा ठूला स्टारकास्ट तर पनि फिल्मले दर्शकको साथ पाएको कारण आक्रामक रुपमा व्यापार गर्न सफल भएको छ ।
‘गौँथली’ को सार्वजनिक प्रचार सामग्री तथा कलाकारको अभिनयले हलसम्म आएका दर्शकलाई नै प्रचार गर्न बाध्य बनायो । फलत: फिल्मले दर्शकमार्फत राम्रो प्रतिक्रियासँगै व्यापारको रफ्तार गति पनि बढाएको छ । ‘गौँथली’ ले यो विभिन्न रेकर्ड बनाउने गतिमा अगाडि बढिरहेको छ । यो वर्ष प्रदर्शन भएको फिल्म ‘लालीबजार’ ले १० करोड क्लबको आकडा पार गर्ने अनुमान गरेता पनि ९ करोड ३५ लाख मात्र कमाइ गरेको थियो ।
‘गौँथली’ को ३ लाख ६६ हजार टिकट बिक्री भएका छन् । सकारात्मक ‘वर्ड अफ माउथ’ र निरन्तर दर्शकको साथ कायम रहेमा ‘गौँथली’ ले चाँडै १५ करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ । निर्माता सुमन गिरीले फिल्मले पाएको दर्शकको साथले आफ्नो टिमको मेहनतको फल पाएको आभाष भएको बताए ।
‘गौँथली’ को भूमिकामा रहेकी सिम्रन खड्का र ठूलेको भूमिकामा रहेका अरुण क्षेत्रीलाई दर्शकले निकै माया दिएका छन् । डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।









