सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित पारमाटा रोड अर्बनमा आइतबार नयाँ र आधुनिक ‘ग्रान्ड प्यालेस फङ्क्सन सेन्टर’को भव्य समारोहबीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रस्तुत गरेको एकल गायनले सम्पूर्ण कार्यक्रमलाई झनै आकर्षक र अविस्मरणीय बनाएको थियो । यो फङ्क्सन सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गरेका हुन् ।
निर्देशक तथा डिजाइनर बस्नेतका अनुसार, सिड्नीमा ठूलो स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्न अभाव भएको स्थानको कमी पूर्ति गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो । फङ्क्सन सेन्टरमा दुईवटा फरक क्षमताका हलहरू छन् । ठूलो हलमा करिब ४०० जनासम्म र सानो हलमा करिब २०० जनासम्म अटाउने गरी बनाइएको छ ।
सञ्चालकहरूको योजनाअनुसार, हरेक महिना नेपालबाट कलाकारहरू बोलाएर सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् । निर्माता रञ्जित शाह, सन्तोष तिवारी र निर्देशक शोभित बस्नेतको संयुक्त निर्माणमा बनेको फिल्म ‘पी.आर.’ (Permanent Resident) अहिले अस्ट्रेलियाभर सफलतापूर्वक प्रदर्शन भइरहेको छ भने छिट्टै अल नेपाल रिलिजको तयारी भइरहेको छ । यो फिल्मले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली विद्यार्थीहरूको स्थायी बसोबास (पीआर) प्राप्त गर्ने संघर्षलाई चित्रण गरेको छ र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।










