निखिलले किन राखे फिल्मको नाम ‘आचार्य’ ?

फिल्म । अभिनेता निखिल उप्रेतीको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको टिजरमा निखिललाई स्टन्ट र एक्सनसहित प्रस्तुत गरिएको छ । विसं २०७२ सालमा आफ्नै लेखन, निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘भैरव’ मार्फत निर्देशक बनेका निखिल यसपटक नयाँ शैली लिएर पुनः निर्देशक बनेर फर्किएका छन् ।

नेपाली फिल्ममा यसअघि कमै देखिएका एक्सन तथा स्टन्टलाई समेटिएको टिजरमा एक्सनसँगै इमोसनलाई पनि प्राथमिकता दिइएको छ । निखिलले शास्त्र र शस्त्रमा निपुण व्यक्ति ‘आचार्य’ रहेको बताए । उनले भने, ‘आचार्यसँग शास्त्र र शस्त्र दुवैको ज्ञान छ, त्यसैले उ आचार्य हो । यसपटक केही नयाँ एक्सनका दृश्यलाई फिल्ममा देख्न पाउनुहुनेछ ।’

फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ । पूर्णिका सिजापतिले यसै फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् । त्यस्तै, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय फिल्ममा रहेको छ ।

सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको फिल्ममा शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् । बन्दे प्रसादले सम्पादन गरेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्