ओटीटी । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा तयार भएको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा सिरियलको टिजर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रष्ट मिडिया प्रालिको तर्फबाट पछिल्लो समय टेलिसिरियलमा सक्रिय कलाकार तथा स्रष्टाहरूलाई सम्मान गरिएको थियो । अभिनेता श्रेष्ठले सम्मानित कलाकार तथा स्रष्टाहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायत रहेका थिए ।
सामाजिक कथामा आधारित ‘जुनी’को टिजरलाई फिल्मको टिजरको झल्को दिने गरी तयार गरिएको छ । सिरियलमा कमला घिमिरे र रञ्जित पौडेल मुख्य भूमिकामा छन् । त्यस्तै, विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । बाल कलाकारका रूपमा सोफिया त्रिपाठी र आदर्श कार्की रहेका छन् ।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले पछिल्लो समय प्रसारण भइरहेका सिरियलभन्दा फरक प्रस्तुति दिन आफूले प्रयास गरेको बताए । ‘सिरियलमा ड्रामा एकदमै कम छ । वास्तविक कथा बढी छ । यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो,’ उनले भने ।
निर्देशक थापाले अन्य सिरियलझैं ‘जुनी’लाई पनि दर्शकले साथ दिने विश्वास व्यक्त गरे । उनका अनुसार सिरियलको पहिलो चरणमा ५२ एपिसोड प्रसारण गरिनेछ । सिरियलको प्रसारण मिति भने सार्वजनिक गरिएको छैन । निर्देशक थापाले छिट्टै प्रसारण मिति घोषणा गरिने जानकारी दिए ।
प्रष्ट मिडिया प्रालिको प्रस्तुतिमा तयार भएको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन् । मुख्य सहायक निर्देशकमा योगेश भण्डारी रहेका छन् ।सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका हुन् ।
सिरियलको शीर्ष गीतमा निर्देशक सुरेश थापाकै शब्द तथा भीम बिसीको संगीत र संगीत संयोजन रहेको छ । गीतमा गायक सुरज पण्डित र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् ।












