फिल्म । गत असार २८ गतेदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ ले पहिलो सातामा तीन करोड बराबरको ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिएका छन् । फिल्म वितरण कम्पनि आरआर फिल्म्सका रोहित कट्टेलले फिल्मले पहिलो साता तीन करोडको ग्रस कलेक्सन गरेको जानकारी दिएका हुन् । सुरुआती दुई दिनमा डेढ करोड ग्रस कलेक्सन गरेको फिल्मले बाँकी दिनमा डेढ करोड ग्रस कलेक्सन गरेको वितरकले दावी गरेका छन् ।
हलमा फिल्म हेर्न दर्शक आइरहेपछि शनिवार पनि अभिनेता दयाहाङ राई र मिरूना मगरसहितको टिम पुगेर प्रतिक्रिया लिनुका साथै धन्यवाद दिएका थिए । उनीहरुले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिएका छन् । मनसुन यामको बाबजुद पनि यो फिल्म हेर्न हलमा देखिएको दर्शकको उपस्थितिलाई उत्साहपूर्ण मानिएको छ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।











