वैशाख ११ मा ‘परालको आगो’ प्रदर्शनमा आउने

फिल्म । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई गम्भीर भावभंगिमामा देख्न सकिन्छ। पोस्टरमा सुहानाको सिउँदोमा सिन्दूर र निधारमा टीका देखिए पनि उनको अनुहारमा खुसीको भाव झल्किँदैन। यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् भने प्रकाश र सौगात दुवैको अनुहार भावुक र गम्भीर देखिन्छ। पोस्टरले फिल्मको कथावस्तु सामाजिक द्वन्द्व र रहस्यमय परिवेशमा आधारित रहेको संकेत गर्छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने विषयवस्तुतर्फ संकेत गरेको देखिन्छ।

फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाको लेखन रहेको फिल्ममा छायांकन संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन्।

फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर साहिल खानले तयार गरेका हुन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन्। निर्माण संयोजन नगेन्द्र घिमिरे र निर्माण नियन्त्रक ईश्वर घिमिरे रहेका छन्।

फिल्ममा पाश्र्वसंगीत किरण तुलाधरको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपुतको रहेको छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।

भेषभूषा डिजाइन सुजन परियारले गरेका छन् भने श्रृंगार मदन न्यौपाने र केश विन्यास रोनिशा अधिकारीले सम्हालेकी छन्। पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशन प्रतिक चौधरीको रहेको छ। मुख्य सहायक निर्देशक करणबहादुर साउद हुन्। निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्।

फिल्मको वितरण आर फिल्म्सले गर्नेछ भने ओएसआरले ओटीटी अधिकार लिइसकेको निर्माण पक्षले जनाएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

कमेन्ट गर्नुहोस्