फिल्म । दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा तयार हुने भनिएको फिल्म ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्ती अभिनेताको रुपमा डेब्यू गर्ने भएका छन् । महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका रोहित अभिनय र ट्राभलमा रुचि राख्छन् । रोहितले ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायतका आधा दर्जन टेलिसिरियलमा अभिनय गरिसकेका छन् । ‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् । यद्दपी अगाडी तय भएका हिरो पल शाह भने फिल्ममा नहुने भएका छन् । यसबारे निर्माण पक्षले केहि बताएको छैन ।
चैत्रको पहिलो हप्ताबाट छायांकनमा जान लागेको फिल्मको अन्य कलाकारहरुका बारेमा निर्देशकसंगै निर्माता समेत रहेका भट्टराईले औपचारिक कार्यक्रममा जानकारी दिने बताए । निर्देशक भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा प्रयोग हुने सम्पूर्ण टेक्निकल टिम बलिउडबाट ल्याउने भएका छन् । छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान लगायतका प्राविधिक आउने भएका छन् ।