फिल्म । निर्देशक नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को दोस्रो गीत रिलिज भएको छ । ‘जाम्न माया जाम’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार बिहान रोमान्टिक नम्बर सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह प्रस्तुत छन् । गायिका मेलिना राईको स्वरमा रहेको ‘सक्दिनँ म बाँच्न’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत छ भने सुरेश वाग्लेले शब्द सृजेका छन् । भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गरेको बताइएको छ ।
पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । पुष्प र साम्राज्ञी दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्ममा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि.गुरुङ फिल्मका सम्पादक हुन् ।