फिल्म । आउँदो फागुन ९ मा फिल्म ‘आमा’ प्रदर्शनमा आउँदैछ । यसमा शिर्ष भूमिकामा छिन् मिथिला शर्मा । अर्थात् आमाको भूमिका उनकै हो । सार्वजनिक फस्ट लुक र ट्रेलर मार्फत फिल्मले एक किसिमको हाइप् बनाइ सकेको छ । फिल्ममा मिथिला आमा र सुरक्षा छोरीको भूमिकामा छिन् । यी दुइकै वरिपरी फिल्मको कथा घुमेको अनुमान सार्वजनिक फस्ट लुक र ट्रेलरले पनि गराएको थियो । फिल्ममा आमाको भूमिका निर्वाह गरेकी मिथिलाले यसलाई आफ्नो करियरकै टर्निङ पोइन्ट भनेकी छन् । तर , आमाको भूमिकाको लागि मिथिला पहिलो रोजाई होइनन् ।
फिल्मकै घोषणामा यस भूमिकामा सुर्यमाला खनाल प्रस्तुत हुने बताइएको थियो । तर , यतिबेला फिल्ममा मिथिला शर्मा छिन् । यसलाई मिथिलाले सुर्यमालाको ब्याडलकको रुपमा लिन्छिन् । ‘सूर्यमालाजी निकै राम्रो कलाकार हो तर , उँहाको भाग्यमा आमा रहेनछ’ उनले भनिन् ,’उँहा हजुरआमा बन्दा आमा बन्ने सौभाग्य मैले पाए ।’ दिदी भनेर सम्बोधन गर्नु हुनेले अब आमा भन्न थालेको मिथिलाले बताइन । उनले आफ्नो अभिनय करियरकै घुम्तीको रुपमा पनि लिन्छिन् ।
‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
तस्वीरहरु :- आर्यन विमली