फिल्म । अभिनेत्री आँचल शर्मा पछिल्लो समय ठूला व्यानरको रोजाईको अभिनेत्री बनेकी छिन् । यसवर्षको सुरुआतमै अभिनेता दयाहाङ राईसँग ‘डिग्री माइला’ मा देखिएकी आँचलको पाइपलाइनमा रहेको फिल्मले यो वर्ष उनको चर्चा प्रसस्तै हुनेछ । उनले यो वर्ष दयाकै जोडीको रुपमा ‘दुःखी आत्मा’ र प्रदीप खड्कासँग ‘पिताम्बर’ मा काम गर्ने तय भएसँगै हालै ‘जेरी अन टप’ मा अनुबन्धित भएकी छिन् ।
निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले गत शुक्रबार अभिनेत्री शर्मासँग कागजी सम्झौता गरेका हुन् । निर्माण पक्षले तयार गरेको लाइनअपले यो फिल्म त्रिकोणात्मक हुने सङ्केत गरेको छ । फिल्ममा आँचल र आना शर्मा दुवै अनमोलको जोडीको रुपमा देखिदैछन् । फिल्मका निर्माता न्यौपानेले आँचल कथाको माग अनुसार नै फिल्ममा अनुबन्धित भएको जानकारी दिए ।
यो फिल्मको छायांकन लुक्ला, मुस्ताङ, काठमाडौंमा हुनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । फिल्म निर्माणमा सरोजसँगै दीपक भण्डारी पनि जोडिएका छन् । यो फिल्म असारमा छायांकनमा जाने निर्माता न्यौपानेले बताए । अनन्या फिल्मस् र भण्डारी मल्टिट्रेडको ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।