पुस्तक । चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो १००औँ लाइभ प्रस्तुतिको अवसरमा संयुक्त राज्य अमेरिकाको कोलोराडोमा पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । विमोचन समारोहमा लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, सङ्गीतकार मनोजराज सिवाकोटी र आयोजक सुमन केसीको उपस्थिति थियो ।
‘साईग्रेस: द स्टोरीटेलर’ ले कथा वाचनको विश्वव्यापी इतिहास, साईग्रेसका विश्वभरका प्रस्तुति र तिनको प्रभावलाई समेट्छ । पुस्तकको आकर्षण उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ हो, जुन युट्युबमा ६६ लाख पटक हेरिएको छ ।
पुस्तकमा साईग्रेसले व्यक्तिगत अनुभव र दर्शकसँगको अन्तरक्रियाका मर्मस्पर्शी कथाहरू समावेश गरेका छन् । एक श्रोताले उनको कथाले आत्महत्याको विचार त्यागेर नयाँ आशा पाएको घटनाले कथा वाचनको परिवर्तनकारी शक्तिलाई उजागर गर्छ । यो पुस्तकले साईग्रेसको कथा वाचन यात्रा र यसको प्रभावलाई मात्र प्रस्तुत गर्दैन, बरु कथाको शक्तिमार्फत जीवनमा परिवर्तन ल्याउने सन्देश पनि दिन्छ ।












