‘फर्की फर्की’ सबैका लागि

फिल्म । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ लाई सबैले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म हेरेपछि सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । दुई घण्टा २५ मिनेट ५ सेकेन्ड लामो फिल्म बुद्ध जयन्तीको अबसरमा आगामी जेठ १० गतेबाट फिल्म दर्शकमाझ आउँदैछ ।

अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकारमा फिल्म केन्द्रीत छ । उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिएको छ । यसमा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली फिल्ममा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यस अगाडि यस्ता प्रयोग गरिएको छैन ।

वर्ल्ड फिल्ममा ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । उनले भने, ‘हामीले नयाँ विधालाई ल्याएनौँ भने एकै किसिमको मात्र फिल्म बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग फिल्ममा गरिएको छ ।’

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ ।

रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

फिल्म ‘फर्की फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन छ भने रोमन न्यौपाने र नरेन लिम्बुको संगीत रहँदा छायांकन नरेन्द्र मैनालीको छ । सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ । प्रोडक्सन हेड शंकर पाण्डे हुन् ।

कमेन्ट गर्नुहोस्