फिल्म । नेपाली फिल्ममा ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक पुर्णेन्दु झाले यस वर्ष सन् २०२५ मा दुई फिल्म निर्देशन गर्ने भएका छन् । केही वर्षको तयारी पश्चात उनले रोमान्टिक ड्रामा र सोसल ड्रामाका दुई भिन्न विधाको फिल्म निर्देशनको तयारीमा जुटेका हुन् । वर्किङ टाइटल ‘पिजे ३’ (PJ3) राखिएको फिल्मलाई उनले ‘राधा रुक्मिणी’ नाम दिएका छन् । यसका साथै उनले घोषणा गरेको ‘लेबर’ पनि यस वर्ष नै तयार हुनेछ ।
निर्देशक झाले ‘पिजे ३’ मा प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए । ‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने ।
यस्तै, पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्म ‘लेबर’ मा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने उनले बताए ।
‘हाम्रो देशबाट लेबरको काममा विदेशिन सङख्या बढी छ । उनीहरूको आ-आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौँ’, निर्देशक झाले भने । उनले फिल्मलाई मैथली भाषामा तयार गर्दैछन् । यद्यपि उनले नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्नेछन् ।
कजेल अफ फिल्म स्टडीजको पहिलो ब्याचको रुपमा परिचित निर्देशक झाले सर्ट फिल्म ‘अपवाद’ मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै सम्भावना बोकेको निर्देशकको रुपमा आफूलाई चित्रण गर्न सफल भएका थिए ।
‘घोषणा गरिएका दुई फिल्ममार्फत उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । स्क्रिप्टमै दुई वर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।