पात्र बाचेका विजय

फिल्म । आउँदो लक्ष्मीपूजालाई प्रदर्शन तय गर्दै प्रचारप्रसारमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सार्वजनिक टिजरले प्रसंशा बटुलिरहेको छ । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजरमा विशेषत अभिनेता विजय बरालको गेटअपको चर्चा भएको छ ।

अभिनेता बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । ‘आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ’, विजयले भने ।

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ मा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

‘मलाई टिजरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ’,उनले भने,‘मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा त्यही प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।’

कलाकारका लागि यही माया र विश्वास नै सबैभन्दा ठूलो उपलब्धी र सम्पत्ति भएको उनको भनाइ छ । निर्माता विनोद पौडेलले टिजरले आशा र अपेक्षा दुवै बढाएको बताए । यो अपेक्षालाई अब जसरी पनि पूरा गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ ।

‘टिजर आएपछि यति धेरै माया पाइयो, सायद हामीले टिजरबाटै यति धेरै अपेक्षा गरेका थिएनौँ होला । टिजरले धेरै दर्शकको आशा बढेको छ’, विनोदले भने, ‘कन्टेन्ट बलियो भएका कारण हामी दर्शकको आशा पूरा हुनेमा ढुक्क छौँ ।’ आफूहरूले गरेको मेहनतको प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

निर्देशक सरोज पौडेलले दर्शकको प्रतिक्रियाले थप मेहनत गर्ने उर्जा भरेको बताएका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यसलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्ममा गन्धर्व परिवारको कथामा देखाईएको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । यसमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

कमेन्ट गर्नुहोस्