घरेलु बजारमै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को कमाइ ११ करोड २० लाख नाघ्यो

फिल्म । गत कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बजारमा उत्साहजनक व्यापार गरिरहेको छ। दसैँमा प्रदर्शनमा आएका अन्य फिल्मको व्यापार कमजोर देखिएका बेला टिकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको यस फिल्मले ११ दिनमा ११ करोड २० लाख रुपैयाँ कमाइ गरेको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् । निर्माता पोखरेलका अनुसार फिल्म हेर्न आएका दर्शकको प्रतिक्रिया सकारात्मक छ।

प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा बलियो पकड कायम राखेको छ। ‘कबड्डी’का अघिल्ला चारवटै शृंखला व्यावसायिक रूपमा सफल भएका थिए। पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्