बिक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट

फिल्म । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले फिल्मको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै उच्च मूल्यमा डिजिटल राइट खरिद गरेको निर्माण टोलीले जनाएको छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्मको निर्देशन बायोपिक विधामा परिचित निर्देशक मिलन चाम्सले गर्दैछन् । ७६ वर्षीय मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित यो फिल्मको निर्माण घोषणा असारको पहिलो साता गरिएको थियो । फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका सुख-दुःख, संघर्ष र सफलताका विभिन्न पाटाहरू समेटिने जनाइएको छ ।

निर्देशक मिलन चाम्सले ओएसआर डिजिटलले अहिलेसम्मकै उच्च मूल्यमा फिल्मको डिजिटल अधिकार खरिद गरेको दाबी गरे । उनले भने, ‘ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो फिल्मको डिजिटल राइट खरिद गरेको छ। यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको परिणाम हो।’

नेपाली फिल्म इतिहासमा कुनै अभिनेताको जीवनीमा आधारित बायोपिक बन्न लागेको यो पहिलोपटक हो । यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ लगायत विभिन्न व्यक्तित्वका बायोपिक निर्माण भए पनि अभिनेताको जीवनमा केन्द्रित बायोपिक पहिलो पटक निर्माण हुन लागेको निर्माण पक्षको दाबी छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदाको भूमिका निभाउनेछिन् । मदनकृष्णका सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने निर्माण टोलीले हालसम्म गोप्य राखेको छ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन् । कथा तथा पटकथा यम थापाले लेखेका छन् । पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक निर्देशक तथा भरत कँडेल साउन्ड डिजाइनर रहेका छन् । ‘म मदनकृष्ण’ को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्