फिल्म । भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । फिल्ममा विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् ।
उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । फिल्म हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो । फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए ।
फिल्म हेरेपछि अभिनेता आर्यन सिग्देलले सम्पूर्ण पक्षको तारिफ गरे । ‘म फिल्म हेर्दा निकै भावुक भए यसमा हाँसो र रोदनको मिश्रण छ’ आर्यनले भने । उनले फिल्मले कलाकारलाई बढी छोए पनि दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरे । ‘हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म फिल्मलाइ’ उनले भने । आर्यन झैँ नम्रतालाई पनि फिल्म मन पर्यो । उनले यस किसिमको विषयमा फिल्म बनाएकोमा दिनेश राउतको तारिफ गरिन् । ‘मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस फिल्मबाट गर्नु भएको छ । म निकै खुसि छु’ उनले भनिन् । उनले फिल्मले कलाकारको मर्मलाई बोकेको र त्यसलाई विपिनले जीवन्त बनाएको बताइन ।
कर्माले धेरैपछी फिल्म हेरेर रोएको प्रतिक्रिया दिए । ‘आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहुर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ’ उनले भने ,’यसले मनोरंजनसँगै यथार्थलाई दर्साएको छ ।’ फिल्मकै ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी अभिनेत्री केकी अधिकारीले आफुलाई भाग्यमानी ठानिन । ‘म यो टिमसँग जोडिन पाए निकै खुसि छु किनकी यो एउटा राम्रो नेपाली फिल्ममा पर्छ’ उनले भनिन् । उनले यसले कलाकारलाई मात्र छुने नभई , जुनै प्रोफेसनको मान्छेलाई छुने प्रतिक्रिया दिईन् । ‘म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ । स्टेज अगाडीको कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनु अगाडी उसले के कस्तो कुरा भोग्छ त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ’ उनले भनिन् ।
धेरैपछि हलमा फिल्म हेर्न आइपुगेकी निशा अधिकारीले विषयवस्तुको निकै तारिफ गरिन् । ‘सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ । यतिको फिल्म बन्नु हाम्रो लागि खुसिको कुरा हो । धेरैपछी राम्रो फिल्म हेर्न पाए’ उनले भनिन् । यसैगरी विपिनसँग दुइ फिल्ममा काम गरिसकेका निर्देशक प्रदीप भट्टराईले फिल्मले कलाकारसँगै दर्शकको पनि मन जित्ने विश्वास व्यक्त गरे । ‘विपिनले फिल्म मार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् । उनि अब्बल कलाकार हुन् भन्ने तथ्यलाइ उनले प्रुफनै गरे’ उनले भने ।
हाँस्यकलाकार निर्मल शर्माले फिल्म मार्फत कलाकार प्रतिको नजरिया नै परिवर्तन हुनेमा आफु विश्वस्त रहेको बताए । उनले आफुलाई यस्तै किसिमको फिल्म मन पर्ने पनि जनाए । भावनात्मक फिल्म बनाउन माहिर मानिने निर्देशक नवल नेपालले फिल्ममा छोरा जब कर्तव्यबाट बिमुख हुन्छ त्यसपछि आउने परिणामलाइ देखाइएको बताए । ‘फिल्मले मन छुन्छ र हाम्रो कर्तव्य प्रति पनि झस्काउछ । फिल्मले हामीले खर्चिने समय र पैसाको सदुपयोग गर्छ’ उनले भने । ‘पशुपति प्रसाद’ जस्तो मनछुने फिल्म निर्देशन गरेर पछिल्लो समय ‘आमा’ रिलिजको तयारीमा रहेका निर्देशक दीपेन्द्र के खनालले एउटा राम्रो र सरल नेपाली फिल्म हेर्न पाएको बताए । ‘एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो लागेन’ उनले भने ,’ यो हाम्रो मौलिक कथाको मन छुने फिल्म हो ।’
फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् । तस्वीरहरु : आर्यन बिमली