फिल्म । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म ‘दुनकी’ बनाउने घोषणा गरेका छन् । अभिनेता शाहरुख खानलाई लिएर उनले ‘दुनकी’ घोषणा गरेका हुन् । पछिल्लो फिल्म ‘सन्जु’ पश्चात हिरानी यो लगायत अन्य केहि प्रोजेक्टको तयारीमा थिए । छायांकन सुर भएसँगै शाहरुखले आफूले निर्देशक हिरानीको काममा पूर्ण रुपमा विश्वास गर्ने गरेको बताएका छन् ।
पछिल्लो समय पन्जाबीको क्यानाडा मोह र त्यहाँ बसोबास गर्न अपनाउने हत्कण्डालाई फिल्ममा हिरानीले प्रस्तुत गर्नेछन् । पछिल्लो समय करियरमा असफलता भोगिरहेका शाहरुखलाई इमिग्रेसनको विषयवस्तुमा केन्द्रीत फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ’पठान’ को छायाङ्कन सकाएका छन् । यसैले गर्दा उनी हिरानीको फिल्म सुरु गरेका हुन् । पन्जाबको सेटअपमा छायाङ्कन हुने फिल्मको लागि मुम्बई स्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।
४० दिनको पहिलो सेड्युल सकिएपछि निर्देशक हिरानीले ती फुटेज हेरेर सम्पादन गर्नेछन् । त्यो बीचमा शाहरुखले एटलीको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन गर्नेछन् । त्यसपश्चात् हिरानीको दोस्रो सेड्युल र एटलीको पनि अन्तिम सेड्युलको काम सकाउनेछन् । पछिल्लो फिल्म ’जिरो’ को असफलता पश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ब्याक टु ब्याक काममा व्यस्त भइरहेका छन् । फिल्ममा शाहरुखसँगै विक्की कौशल , ताप्सी पन्नुको पनि अभिनय रहनेछ ।










