‘गुरुदेवलाई सङ्गीतकर्मीसँगै राज्यले सहयोग गर्नुपर्छ’ : सङ्गीतकार सिंह

सङ्गीत । नेपाली सङ्गीत क्षेत्रमा एउटा सम्मानित नाम गुरुदेव कामत उपचारका लागि आर्थिक अभावका कारण जन्मथलो सिरहा फर्किएका छन् । नेपाली गीतसङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार एवम् सङ्गीत गुरुको रूपमा परिचित शास्त्रीय सङ्गीतका गुरुदेवसमेत रहेका उनी केही समय यता दुवै मृगौलाले काम गर्न छाडेपछि पिडित छन् ।

गत वर्ष विसं २०८० को चैतमा मृगौलाले काम गर्न छाडेको थाहा भएपछि उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ स-परिवारले काठमाडौँ छाडेको कवि एवं मुक्तककार मुकुन्द पौडेलले जानकारी दिए । उनले डायलासिसका लागि आवश्यक खर्चसमेत जोहो गर्न सकेनन् ।

‘शास्त्रीय सङ्गीतमा उच्च नाम बनाउनुभएको एउटा सर्जक यसरी घर फर्किनु ज्यादै दुःखद छ । उहाँलाई हामीले सहयोग गर्नुपर्छ । शास्त्रीय सङ्गीतमामा जीवन सर्मर्पित गर्नुभएका साधकलाई हामीले यसै भुल्नु हुँदैन’, उहाँले भने ।

उनले गुरुदेवका शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा छलफल गरेको जानकारी दिए । प्रभात सगर, सुनिल विश्वकर्मा लगायतले सहयोगका लागि पहल गरिरहेका छन् ।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात गुरुदेवलाई राज्यले उपचारमा सघाउनु पर्ने सङ्गीतकार राजु सिंहले बताए । ‘उहाँ शास्त्रीय सङ्गीत जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्ने गरी सिकाउने गुरू । उहाँलाई हामी सङ्गीतकर्मीसँगै सरोकारवाला निकायले सहयोग गर्न ढिलाइ गर्न हुँदैन’, उनले भने ।

गुरुदेवसँग नजिक रहे पनि आफ्नै स्वास्थ्यमा समस्या आएपछि पछिल्लो केही समययता भेट्न नपाएको सङ्गीतकार सिंहले बताए । ‘मलाई पनि केही स्वास्थ्य समस्या देखिएको थियो, त्यहीकारण उहाँलाई भेट्दा असर गर्छ भन्ने लगेर फोनमार्फत नै सम्पर्क गरे । म ठिक भएपछि भेट्छु भन्ने योजना बनाएको थिएँ । उहाँ घर फर्किनुभएको कुराले ज्यादै दुःखी बनाएको छ’, उनले भने ।

शास्त्रीय गीतसङ्गीतसँगै पार्श्व गायनमा आफूलाई स्थापित गरेका गायक युवराज चौलागाईँले गुरुदेवलाई प्रेरणाको स्रोतका रूपमा लिएका छन् । ‘शास्त्रीय सङ्गीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । अहिले पनि उहाँको गीतसङ्गीतले हामीलाई शिक्षा दिइरहेको हुन्छ । उहाँले सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो’, गायक चौलागाईंले भने ।

गुरुदेव आफैँले सामाजिक सञ्जालमार्फत लहानमा बाँकी उपचार भइरहेको जानकारी दिएका छन् । यद्यपि उनले काठमाडौँ छाड्नुमा आर्थिक अभाव नै रहेको स्पष्ट जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्