सन् २०२५ का बलिउडका यी गीतले जिते दर्शकको मन

सङ्गीत । सन् २०२५ भारतीय सङ्गीत क्षेत्रका लागि निकै उत्कृष्ट वर्षका रूपमा स्थापित भएको छ । यो वर्ष फिल्मका थुप्रै गीत सार्वजनिक भए, जसले दर्शक र संगीतप्रेमीबीच उल्लेखनीय चर्चा पाए । अभिनेता रणवीर सिंह अभिनित ब्लकबस्टर फिल्म धुरन्धर को आइटम नम्बर ‘शरारत’ सन् २०२५ को सबैभन्दा हट डान्स ट्र्याकमध्ये एक बन्यो ।

गीतलाई मधुबन्ती बागची र ज्यास्मिन स्यान्डलसले गाएका छन् भने संगीत शाश्वत सचदेवले दिएका हुन् । गीतमा क्रिस्टल डिसूजा र आयशा खानको बोल्ड र ऊर्जावान नृत्यको खुलेर प्रशंसा गरिएको छ । सामाजिक सञ्जालमा यसको हुक स्टेपमा हजारौँ रिल्स बनेका छन् भने गीत लामो समयसम्म ट्रेन्डिङ सूचीमा रहन सफल भयो ।

अभिनेता अक्षय कुमारको कमेडी फ्रेन्चाइज फिल्म हाउसफुल ५ को गीत ‘लाल परी’ मार्फत यो यो हनी सिंहले धमाकेदार पुनरागमन गरेका छन् । हनी सिंहकै शब्द, संगीत र स्वर रहेको यस गीतमा सिमर कौर र अल्फाजको स्वर पनि समावेश छ । गीतमा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख र ज्याकलिन फर्नान्डिजजस्ता स्टार कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आयुष्मान खुराना र रश्मिका मन्दानाको हसर कमेडी फिल्म थामा को गीत ‘पोइजन बेबी’ मा मलाइका अरोराको धमाकेदार प्रस्तुतिका कारण गीत चर्चाको केन्द्रमा रह्यो । गीतलाई ज्यास्मिन स्यान्डलस, सचिन जिगर र दिव्य कुमारले गाएका छन् । सचिन जिगरको संगीत र अमिताभ भट्टाचार्यको शब्द रहेको यस गीतमा मलाइकाको हट डान्स मुभ्स र रश्मिकाको ऊर्जाले दर्शकको ध्यान तान्न सफल भयो ।

आर्यन खानको डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रमोशनल ट्र्याक ‘गफूर’ तमन्ना भाटियाको स्टाइलिश नृत्यका कारण हिट बन्यो । गीतलाई शिल्पा राव र उज्ज्वल गुप्ताले गाएका छन् । गीतमा गुलशन ग्रोवर, शक्ति कपूर र रञ्जितजस्ता पुराना भिलेन कलाकारहरूको उपस्थितिले दर्शकलाई रमाइलो ट्विस्ट दिएको छ । तमन्नाको ऊर्जावान मुभ्स र आकर्षक बिट्सका कारण गीत इन्स्टाग्राम रिल्समा भाइरल बन्यो ।

अजय देवगन अभिनित फिल्म ‘आजाद’ मा रविना टण्डनकी छोरी राशा थडानीले नृत्य गरेको ‘उई अम्मा’ वर्षकै सबैभन्दा चर्चित गीतमध्ये एक बन्यो । गीतलाई मधुबन्ती बागचीले गाएकी छन् भने शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् । राशाको आत्मविश्वासी प्रस्तुतिले गीतलाई युवा पुस्तामाझ अत्यन्त लोकप्रिय बनाएको छ । ‘उई अम्मा’ युट्युबमा सबैभन्दा बढी हेरिएका गीतहरूको सूचीमा समेत समावेश हुन सफल भएको छ ।

कमेन्ट गर्नुहोस्