बोस्टनमा प्रदर्शन हुँदै ‘बगान’

फिल्म । प्रदर्शनरत फिल्म ‘बगान’ यो वर्षको (अहिलेसम्मको) सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीको दोस्रो स्थानमा परेको छ । यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलू बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्यो । यसपछि धेरै आशातित फिल्म प्रदर्शनमा आए । तर, सफलता कसैले प्राप्त गर्न सकेनन् । गत असार २९ गते प्रदर्शन भएको फिल्म ‘बगान’ले भने ‘जारी’पछिकै उच्च कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिएको छ ।

चौंथो हप्तासम्म फिल्मले १ करोड १० लाखको हाराहारमा ग्रस कलेक्सन गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । यो ५५ वटा हलको कमाई हो । बक्स अफिस सिस्टम जडान नभएका हल र कलेक्सन रिपोर्ट उपलब्ध गराउन बाँकी हलसहितको जोड्दा फिल्मको कमाई बढ्ने स्पष्ट छ ।

अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले फिल्म निर्देशन गरेका हुन् । फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । फिल्मको डायस्पोरा प्रदर्शन अन्तर्गत अमेरिका प्रदर्शनका लागि गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिका कार्की त्यहाँ पुगेका छन् ।

दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहनु भएकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिईरहेका छन् ।

नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शनको प्रारम्भ बोस्टनबाट हुँदैछ । गीतकार वाग्लेले भने,’हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट २१ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भईरहेको गीतकार वाग्लेले बताए ।

‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्