नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकामा हुने

फिल्म । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले प्रेस विज्ञप्ति जारी गर्दै विक्रम संवत २०८० जेठ १३ गते (२७ मे, २०२३)मा कार्यक्रम हुने जानकारी दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रियबजार विस्तार गर्ने उद्देश्यले विदेशीभूमिमा अवार्ड गरिरहेको जानकारी दिए ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको अध्यक्ष लामाले जानकारी दिए । नेफ्टा नीजि क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो ।यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले बैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्