आनालाई समीर भन्दैछन् ‘तिमी भए काफी’

फिल्म । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक विषयवस्तु र प्रस्तुतिका कारण यतिबेला चर्चामा छ । यसअघि सार्वजनिक पोस्टर र टिजरले दर्शकको ध्यान खिचिसकेको फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र उतार–चढावलाई मुख्य कथावस्तु बनाएको छ । नायिका आना शर्माको फरक शैली, गेटअप र टिजरमा देखाइएको नयाँ प्रस्तुति विशेष गरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।

यसैबीच, फिल्मको रोमान्टिक गीत ‘तिमी भए काफी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव-नायक तथा गायक समीर श्रेष्ठको प्रेमिल केमेस्ट्री देख्न सकिन्छ । थाइल्याण्डका रमणीय लोकेशनमा छायांकन गरिएको गीतको भिडियोमा आना र समीर रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा दुवै कलाकारबीचको सामिप्यतालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी र सिनेमाटोग्राफी दर्शकलाई लोभ्याउने खालको रहेको छ ।

समीर श्रेष्ठकै स्वरमा समावेश गरिएको यस गीतमा सास्वतको संगीत रहेको छ । गीतको भिडियोको डीओपी झोले हुन् । निर्माण पक्षले गीतले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ । सुदिप्ताको निर्देशनमा बनेको फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशंखेको छायांकन, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ । फिल्मका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् भने आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रूपमा रहेका छन् ।

फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान रहेको छ ।

कमेन्ट गर्नुहोस्