समीक्षा : थार

फिल्म । कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् । दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् । केही समय अगाडिसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यसैले गर्दा पछिल्लो समय ओटीटीमा पनि हल झैँ विकेन्डमा कन्टेन आउने गरेका छन् । ओटीटीमा आएको पछिल्लो फिल्म मध्ये एक हो ‘थार’ ।

अनिल कपूरको अभिनयसँगै निर्माण रहेको फिल्म ‘थार’ नेटफ्लिक्समा रिलिज भएको हो । मे ६ देखि स्ट्रिमिङ भइरहेको फिल्म थ्रिलर जनरामा रहेर बदलामाको कथामा आधारित छ । फिल्मले सामाजिक इस्यु नै बोकेको छ । ‘थार’ भन्नाले भारतीय उपमहाद्वीप को पश्चिमोत्तरी भागमा रहेको मरुभूमिलाई बुझिन्छ । अर्थात कोमलता नभएको सुख्खा । यो थिम फिल्मका अभिनेता हर्श्वर्धन कपूरमा देखिन्छ ।

उनले आफ्नो भूमिकामा सम्भावना देखाईसकेका छन् । उनले निर्वाह गरेको भूमिकाले उनलाई सामान्य युवाबाट माथि उठाएको छ । पश्चिमी नोयर शैलीबाट प्रभावित ‘थार’ मा ८० दशकको कथा छ । यसमा सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि पुष्करमा पुगेपछि आफ्नो विगतको बदला लिनका लागि यात्रामा निस्कन्छन् । जहाँ उनका [इँटा अनुल कपूर ‘थानेदार’ छन् । फिल्ममा अनिल कपूर ( सुरेखा सिंह ) र सतिश कौशिक ( भुरे ) को मित्रता थारमा देखिन्छ । बर्षौदेखि एकै थानामा काम गरिरहेका यी दुइ एक अर्काका विश्वासिलो पात्र हुन् । तर , गाउँको अवस्था , राजनैतिक उथलपुथलले यिनीहरुलाई प्रहरी भएको महसुस हुन् दिएको छैन । त्यसैले एक हत्याकाण्डको जाँच गरिरहेका भुरेले सुरेखालाई भन्छन् ,’सर ! बल्ल प्रहरी भए जस्तो लागेको छ । हामी सोधपुछ गरिरहेका छौँ । ‘

फिल्मको सुरुवातमै एक घरमा लुटेराहरुको समुहले लुटपाटसँगै ज्यान मारेको देखाइन्छ । त्यहाँ डाकुले सबै लुटपाट गरेर सबैलाई मारेर फर्किन्छन् । स्थानीय मुखदर्शक भएकै कारण प्रहरीको अनुसन्धान लयमा पुग्दैन । यद्दपी सुरेखा आफ्नो सहयोगी भुरेसँगै अनुसन्धानमा जुट्छिन् । लुटपाट र ज्यान मार्नुलाई समान्य रुपमा लिने समाज भएकाले सुरेखाकी श्रीमतीले एक पटक भन्छिन् ,’ज्यादा पुलिस नबन्नुस है ।’ कानुनले काम नगरेको समाजमा उनलाई डर हुन्छ । त्यहिँ डरलाई उनको डायलग मार्फत निर्देशकले बुझाउन खोजेका छन् ।

हर्ष वर्धन ( सिद्धार्थ कुमार ) शान्त छन् । तर , बाहिर जति शान्त छन् भित्र त्यति नै ज्वालामुखी छ । उनको भित्र एउटा घटना लुकेको छ । जसको आभाष उनले हुन् दिएका छैनन् । उनलाई एक पटक ढावामा भेट्दा सुरेखाले उनको बारेमा ढावा संचालकलाई सोध्छन ,’यी को हुन् ? किन मौन छन् ?’ जवाफ आउँछ ,’उनले अहिले सम्म चिया , पकौडा र हिसाब कति भयो ? बाहेक केहि बोलेका छैनन् । यद्दपी उनको शान्त स्वभावले सुरेखालाई शंका गर्न बाध्य बनाउछ ।

यी शान्त स्वभावका सिद्धार्थले आफूले पुराना समानहरुलाई उत्खनन गरेर बेच्ने बताउछन् । त्यहिँ शिलशिलामा उनी केहि कामदार खोज्न एक घरमा पुग्छन । त्यो घरमा फातिमा साना शेख ( चेतना ) भेटिन्छिन् । उनका पति साथीहरु काम गर्न बाहिर गएको र केहि दिनमा आउने जानकारी दिन्छिन् । उनको पति घर फर्किएपछि सिद्धार्थले कामको अफर दिन्छन । आफ्नो अनुपस्थितिमा घर आउँदा छरछिमेकमा चलेको चर्चाले रिसाएका चेतनाका पति आफ्नो अन्य तीन साथीसँग कामलाई फत्ते गर्न रेडी हुन्छन् । पैसाको लोभमा काममा निस्किने तयारी हुन्छ । यसपछि फिल्मको कथा सुरु हुन्छ ।

फिल्मको टाइटल ‘थार’ ले सिद्धार्थको मनोवैज्ञानलाई चित्रण गरेको छ । शान्त सिद्धार्थ , प्रहरीगिरी देखाउने तयारीमा रहेका सुरेखा , आफ्नो पतिबाट नै पिडित देखिएकी चेतना , लोभ लालचमा फसेका चेतनाका पति बीचको अन्तरद्वन्द्व नै फिल्मको कथासार हो । फिल्ममा देखाउन खोजिएको विषय नयाँ होइन , तर सर्वाधिक चर्चा हुने विषय हो । तर , निर्देशक राज सिंह चौधरीले पुरानो कथामा कलाकारबाट गराएको मेहनतमा स्क्रिनप्लेलाई बगाउन् सकेका छैनन् । फिल्ममा अनिल भन्दा उनका सहायक बनेका सतिश दमदार देखिएका छन् । यद्दपी यी दुइले नै आफ्नो क्षमता देखाउने धेरै ठाउँ छैन ।

फिल्ममा फातिमा घरेलु हिंसा सहेर बसेकी श्रीमतीको भूमिकामा छिन् । उनलाई ‘बच्चा’ नभएको आरोपमा श्रीमानले हिसां गर्ने गरेका छन् । उनलाई ‘तिम्रो कारण बच्चा’ भएन भनेर भनिएको छ । आफ्नो श्रीमानबाट माया नपाएकी र हेपाई खाएकी चेतना विस्तारै सिद्धार्थले गर्ने व्यवहारबाट आकर्षित हुन्छिन् । उनले राजिस्थानी लवजलाई राम्रोसँग पकडेकी छन् । उनले दुरुस्तै स्थानीयको झल्को दिएकी छिन् ।

फिल्ममा हर्षवर्धनले पनि आफूलाई बलियो रुपमा प्रस्तुत गरेका छन् । उनले फिल्मको थिम अनुसार आफ्नो लुक्स र आफ्नो स्वभाव देखाएका छन् । यद्दपी निर्देशकले कथालाई पटकथामा ढाल्दा नयाँपन दिन नसक्दा दर्शकलाई ऊत्सः हुदैन । क्रुरताको हदलाई केहि बढाए पनि फिल्मले त्यसलाई कायम गर्न सकेको छैन । डेब्यु निर्देशनमा राजले फिल्मलाई थ्रीलर लुक्स दिएता पनि पटकथामा नयाँ पन दिएका छैनन् । यसैले गर्दा कलाकारले गरेको अभिनयलाई ‘न्याय’ नपाएको प्रस्टिन्छ । फिल्मले सामाजिक मुद्दा बोकेता पनि त्यसलाई स्क्रीनप्ले मार्फत प्रस्ट्याउन सकेको छैन ।

नेटफ्लिक्समा उपलब्ध फिल्ममा विशेषत हर्षवर्धनको अभिनयले आकर्षण गर्नसक्छ । यद्दपी फिल्मको कथाले जगाउने उत्सुकतालाई अभिनय र मेकिङले धेरै बेरसम्म होड गर्न कठिन नै हुन्छ । किनकी फिल्मलाई अगाडी बढाउने ‘पटकथा’ ले फिल्म हेर्दै गर्दा ध्यान मोडिन प्रसस्त ठाउँ दिन्छ ।

कमेन्ट गर्नुहोस्