सुरक्षासँग निमेषको ‘लाइफ ड्यामेज’ घोषणा

फिल्म । ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठ निर्देशन रहने फिल्मको शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो ।

निर्देशक निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यसमा स्क्रिन शेयर गर्दैछन्। मुहूर्तमा सुरक्षा र निमेशसहित कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ । यसै वर्ष रिलिज लक्ष्य राखिएको फिल्मलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्।

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले भने,‘अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यसमा देखाउन खोजेका छौँ।’

यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ ।

कमेन्ट गर्नुहोस्