‘नेपहपको श्रीपेच २’को खुल्यो अडिसन

सङ्गीत । चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको औपचारिक घोषणा गरिएको छ । घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले बाजी मारेका थिए भने सह-विजेताका रूपमा जेनिश क्षेत्रीले आफ्नो नाम लेखाएर दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।

‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् ।

कमेन्ट गर्नुहोस्