
फिल्म । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’ कोरियन भाषामा तयार भएको छ । फिल्म कोरियामा स्थानीय भाषामै प्रदर्शन हुनेछ । निर्देशक मिलन चाम्सले कोरियन भाषामै प्रदर्शन गर्न पाउनु सुखद रहेको बताए । ‘कोरियन भाषामै फिल्म प्रदर्शन गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो । यसले नेपाली फिल्मको बजार विस्तार गर्छ भन्नेमा म विश्वस्त छु । अब कोरियामा स्थानीय भाषामै हलमा प्रदर्शन हुनेछ’, निर्देशक चाम्सले भने ।
उनका अनुसार यो फिल्मलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले सात वर्षको लागि प्रदर्शन जिम्मा लिएको छ । उनका अनुसार नेपाली फिल्म कोरियन भाषामै स्वरांकन भएर प्रदर्शन हुने यो सम्भवत पहिलो फिल्म हो ।
फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको अभिनय रहेको छ ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालभर प्रदर्शनरत छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।