
फिल्म । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको फिल्म ‘वर एण्ड वधु’ मा समावेश ‘तिमी सँग’ बोलको गीत सार्वजनिक भएदेखि नै दर्शकको रोजाईमा परेको छ । गीतले प्राप्त गरेको भ्यूज, प्रतिक्रिया र ट्रेण्डिङलाई हेर्ने हो भने गीत सफल भईसकेको छ । हेर्ने सँगै सुन्ने गीत भएकाले ‘तिमी सँग’ ले आउँदा दिनमा अझैँ दर्शक पाउने देखिन्छ । यो न्युज तयार गर्दासम्म यो गीत सात लाख ५० हजार भ्यूजसहित नेपाल युट्युबको ट्रेण्डिङ नम्बर २० मा रहेको छ ।
यस गीतका सर्जक हुन्, सङ्गीतकार अर्जुन पोखरेल । झन्डै पाँच वर्ष अगाडि नै गीतको कन्सेप्ट तयार गरेका अर्जुनले फिल्मका निर्देशक मिलन चाम्स र ओएसआर डिजिटल प्रमुख ओम अग्रवाललाई गीत सुनाए । प्रेमिल भाव व्यक्त गर्ने गीत सिर्जनामा आफूलाई अब्बल सावित गरिसकेका सङ्गीतकार पोखरेलसम्म पुगेपछि निर्देशक चाम्स खाली फर्किनु परेन । उनले अन्य फिल्मलाई समेत गीत छनोट गरेर स्टुडियोबाट फर्किए । फलत: अहिले सोही गीत फिल्म प्रचारको बलियो माध्यम बनेको छ ।
‘उहाँहरू फिल्मको गीतको विषयमा कुरा गर्न आउनु भएको थियो, मैले सुनाएपछि मन पराउनुभयो । त्यसपछि यसलाई मैले एरेन्जमा पठाएँ । यो गीतमा माया प्रेमसँगै जीवन समर्पण गर्ने तयारीमा रहेका जोडीको कथा भनिएको छ’, सङ्गीतकार पोखरेलले भने । ‘म यस्तो गीत गाउँछु’,‘तिम्रो आँखामा आँसु हेरी’ जस्ता गीतका एरेन्जर गोपाल रसाइलीसँग केही ग्यापपछिको सहकार्यलाई दर्शकले रुचाए ।
हालै सार्वजनिक गरिएको गीतले आँखालाई शितलता दिनुका साथै कर्णप्रिय बनेको छ । गीतमा लेखु सहयात्रीद्वारा लिखित साहित्य जोडिएको प्रेमिल शब्द रहेको छ भने अन्जु पन्त र प्रताप दासले यसलाई मिठो स्वर दिएका छन् । सङ्गीतकार पोखरेलका अनुसार यस गीतले कथासार देखाएको छ । भिडिओमा फिचर्ड भएका कलाकार आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्य बीचको नोकझोक र प्रेम भावलाई गीतमा व्यक्त गरिएको छ ।
गीतको अन्तरामा साहित्यिक शब्दको प्रयोग गरिएको छ । ‘मेरो मनको मरुभूमिमा हरियाली हौँ तिमी……’ शब्दमार्फत गहिरो प्रेमभाव र साहित्यको प्रयोगले नै गीतलाई हेर्ने दर्शकसँगै सुन्ने स्रोता माँझ पनि लोकप्रिय बनाइरहेको छ ।

‘पछिल्लो समय गीतको शब्दमा साहित्य कम भएको भन्ने पनि सुनिन्छ, त्यसैले यसमा सबै किसिमका शब्दको प्रयोग गरिएको छ । गीतको निर्माणमा जति मेहनत गरिएको छ, गीतको भिडिओ पनि उत्तिकै आकर्षक छ । भिडिओका कलाकार, सिनेम्याटोग्राफर, कोरियोग्राफरसहित सम्पूर्ण टीमले सबैले उत्तिकै मेहनत गर्नुभएको छ’, सङ्गीतकार पोखरेलले भने ।
सङ्गीतकार पोखरेलले नै फिल्मको लागि तयार गरेका अर्को गीतको छायांकन यतिबेला काठमाडौँमा भइरहेको छ । नेपाली फिल्मका लागि प्रचारप्रसारक बलियो माध्यम गीत मानिन्छ । निर्देशक मिलन चाम्सले गीतले फिल्मको प्रवर्द्धन गरिरहेको महसुश गरेका छन् । निर्देशक चाम्सले विवाहको महत्व र परिवारसँगको सम्बन्धलाई फिल्ममा प्रस्तुत गरिएको बताए ।

‘पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्म भित्र प्रस्तुत गरेको छु । साथै,प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई यसमा समावेश गरिएको छ’, उनले भने ।
नेपाल र रोमानियामा छायांकन गरिएको फिल्ममा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठ, लगयतका कलाकारले पनि अभिनय गरेका छन् ।
यसमा मिलन श्रेष्ठले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन,प्रदीप भारद्धाजले कथा लेखन र सुस्मिता वाईवाले नृत्य निर्देशन गरेका हुन् । भदौ १४ गतेबाट प्रदर्शन हुने ‘वर एण्ड वधु’लाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।
