
फिल्म । निर्देशक मिलन चाम्स पछिल्लो समय ‘गोर्खा वारियर’ का कारण चर्चामा छन् । उनले यसको छायांकनदेखि प्रदर्शनसम्म राम्रै समय दिए । यसका साथै पछिल्लो समय सोसल ड्रामाका फिल्म मार्फत दर्शक माँझ आइरहेका निर्देशक चाम्सले फिल्म ‘वर एण्ड वधु’ मार्फत विधा परिवर्तन गरेका छन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्ममा पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक गर्दै पछिल्लो समय रोमान्टिक कमेडी विधामा काम गर्ने ईच्छा यसबाट पुरा भएको बताए । उनी निर्देशित ‘वीर विक्रम’,‘लिली बिली’ जस्ता फिल्म रमकम विधामा बनेका सर्वाधिक चर्चित फिल्म हुन् ।
‘वर एण्ड वधुमार्फत रमकममा पुनः काम गरे । यो विवाह परम्परालाई देखाईएको फिल्म हो । रोमानिया र नेपालको मनोरम दृश्यमा खिचिएको फिल्मले युवापुस्ताको कथालाई उठान गरेको छ’, निर्देशक चाम्सले भने ।
फिल्ममा आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको जोडी दर्शकले देख्न पाउने छन् । यसमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । यसमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन छ । भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।
