‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ हुँदै

फिल्म। ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३’ यहिँ आउँदो असार १ देखि ३ गतेसम्म हुने भएको छ। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो फेस्टिभल कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो । आयोजक संस्था कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र फेस्टिभलकि अध्यक्ष डा. मञ्जु मिश्रले प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेको बताईन्। यो अन्तराष्ट्रिय फिल्म फेस्टिभलका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताईन् । नेपालबाट यो फेस्टिभलमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जनाईन् ।

प्राप्त अन्तराष्ट्रिय चलचित्रहरु निर्णायक समुहबाट हेर्नेकाम भईरहेको अध्यक्ष डा. मिश्रले बताएकी छिन्। बढीमा २५ वटा फिल्म चयन गरिने फेस्टिभल निर्देशक डब्बु क्षत्रीले जानकारी दिनुभयो। ‘फेस्टिभलमा नेपालीसँगै अफ्रिकी फिल्म प्रदर्शन हुनेछन्। अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिका माथि बनेको अन्य मुलुकका फिल्म चयन गर्ने छौं। अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ’, फेस्टिभल निर्देशक क्षत्रीले जानकारी दिनुभयो।

साँस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यावसायिक हुन सेकनन् ? लगायत विभिन्न विषयमा छलफल पनि हुने तालिका रहेको छ। यो महोत्सवमा चलचित्र, लघु चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराईनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताए । यस्तै नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्