हलमा ‘ऐँचो पैँचो’ र ‘गणपति’

फिल्म । सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसर पारेर दुई नयाँ फिल्म‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । प्राय शुक्रबार प्रदर्शन हुने फिल्म चाडपर्वका कारण एक अगाडी नै हलसम्म पुगेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् ।

बुधवार साँझ काठमाडौँमा सम्पन्न प्रिमियरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री प्रेम आले, राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, नेता नैनसिंह महर, महेश बस्नेत लगायतले फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन् । पूर्वमन्त्री आलेले फिल्मले राजनीतिज्ञ सच्चिनु पर्ने संकेत गरेको बताए । ‘राजनीतिलाई पेसा बनाउनेलाई यसले व्यङ्ग्य गरेको छ । यसले चुनावी माहोलको विविध पाटोलाई पर्दामार्फत जनतासम्म ल्याएको छ’, पूर्वमन्त्री आलेले भने ।

यद्यपि फिल्म पूर्णरुपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताइन् । उनले भनिन्,‘हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै पात्र जोडिएका हुन् । फिल्म सामाजिक विषयवस्तु मै आधारित छ ।’

अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्दा फरक अनुभव भएको बताइन । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै अभिनेत्री खड्काले फिल्मले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

आजैदेखि प्रदर्शन भएको अर्को फिल्म ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका हुन् । उनकै लेखन रहेको चलचित्रमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा हरिबहादुर घलेले छायांकन , विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्